काठमाडौं — नेकपा एमाले भित्र आन्तरिक असन्तुष्टि फेरि सतहमा आएको छ। पार्टीका नेता सुरेन्द्र पाण्डे ले सामाजिक सञ्जालमार्फत पार्टी नेतृत्वको कार्यशैलीप्रति कडा टिप्पणी गर्दै बैठक संस्कृतिमाथि गम्भीर प्रश्न उठाएका छन्।
उनले “पार्टीका कुरा बैठकमा गर्ने कि सामाजिक सञ्जालमा?” भन्ने प्रश्न उठाउँदै यसलाई जायज बहसको विषय बताएका छन्। पाण्डेले पार्टीका आधिकारिक फोरमहरूमा पटक–पटक सुधारका ठोस प्रस्ताव राख्दा पनि त्यसलाई गम्भीरतापूर्वक नलिइएको गुनासो गरेका छन्। उनका अनुसार ती सुझावहरूलाई ‘नोट अफ डिसेन्ट’ मा सीमित गरिँदा वास्तविक छलफल र सुधारको वातावरण बन्न सकेको छैन।
पाण्डेले बैठकहरू अब विचार आदानप्रदान र सुधारको थलो नभई केवल औपचारिकता पूरा गर्ने माध्यममा सीमित भएको आरोप लगाएका छन्। “जब बैठक सुन्ने र सुध्रिने ठाउँ होइन, केवल ‘हुकुम’ सुनाउने थलो बन्छ, त्यहाँ विवेकको मृत्यु हुन्छ र अहंकार हावी हुन्छ,” उनले लेखेका छन्।
उनले पार्टी सञ्चालन शैलीमा समेत परिवर्तनको आवश्यकता औंल्याएका छन्। अबको एमाले बन्द कोठाभित्र हुने सीमित व्यक्तिको निर्णय र रणनीतिबाट होइन, आम कार्यकर्ताको भावना र आधुनिक कार्यपद्धतिका आधारमा अघि बढ्नुपर्ने उनको जोड छ।
पाण्डेको यस अभिव्यक्तिले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, निर्णय प्रक्रिया र नेतृत्व शैलीबारे नयाँ बहस सुरु हुने संकेत दिएको छ।
