दोलखा – पुर्व संचार मन्त्री पार्वत गुरुङको आफ्नै गाउँ क्षेत्रमा मोबाइल नेटवर्क नचल्ने समस्या देखिएपछि प्रतिनिधिसभा उम्मेदवार अजयबाबु शिवाकोटी ले त्यहाँ दूरसञ्चार सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।
गौरीशङ्कर गाउँपालिका–५, सुरी पुग्दा आफूहरूले मोबाइल नेटवर्क नपाएको अनुभव सार्वजनिक गर्दै शिवाकोटीले सञ्चार पहुँचको अवस्था दयनीय रहेको बताए। “यात्राका क्रममा गाडीमा समस्या आएपछि पछाडि छुटेका साथीहरूलाई सम्पर्क गर्न खोज्दा मोबाइलमा सिग्नल नै थिएन,” उनले उल्लेख गरे, “यस्तो ठाउँमा सञ्चारको अवस्था देख्दा अचम्म लाग्यो।”
स्थानीय बासिन्दाका अनुसार सुरी क्षेत्र चारैतिर डाँडाले घेरिएको छ। चरीकोट वा हनुमन्ते डाँडामा रहेका टावरको सिग्नल यहाँ प्रभावकारी रूपमा नआउने उनीहरूको भनाइ छ। नेटवर्क पाउन डाँडाकाँडा धाउनुपर्ने बाध्यता रहेको गुनासो स्थानीयले गरेका छन्। एक स्थानीय महिलाले “मोबाइल हातमा बोकेर गीत सुन्न मात्रै ठिक्क छ, नेटवर्क त आक्कलझुक्कल मात्रै आउँछ,” भन्दै समस्या सुनाइन्।
उम्मेदवार शिवाकोटीले आफू निर्वाचित भएमा सुरी र आसपासका बस्तीलाई टेलिफोन नेटवर्कमा जोड्ने पहिलो प्राथमिकता रहने बताए। उनले सञ्चार मन्त्रालय र नेपाल टेलिकमसँग समन्वय गरी आगामी वर्षभित्रै उक्त क्षेत्रमा नयाँ टावर स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे।
सञ्चार पहुँच अभावले स्थानीय बासिन्दा दैनिक जीवनका सामान्य कामकाजदेखि आपत्कालीन अवस्थासम्म प्रभावित भएको भन्दै उनले यस विषयलाई गम्भीर रूपमा लिने बताएका छन्।
