झापा,दमक । लामो समयदेखि राजनीतिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय रहनुभएका बिमल नेपालले नेकपा (एमाले) परित्याग गरेको घोषणा गर्नुभएको छ।
करिब ३० वर्षदेखि नेकपा (एमाले) का संगठित सदस्यका रूपमा आबद्ध रहँदै राष्ट्रिय जनसांस्कृतिक मञ्च, ग्रील तथा स्टील उद्योग महासङ्घ तथा उद्योग वाणिज्य महासङ्घमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका नेपालले देशको वर्तमान सामाजिक–राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै परिवर्तन आवश्यक भएको निष्कर्षसहित पार्टी त्याग गरेको बताउनुभयो।
उहाँले झापा–५ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) को चुनावी अभियानमा संलग्न हुने प्रतिबद्धता व्यक्त गर्दै आजैदेखि नेकपा (एमाले) को साधारण सदस्यता तथा सबै जिम्मेवारी परित्याग गरेको जानकारी दिनुभयो।
नेपालका अनुसार उहाँको परिवारले समेत उक्त अभियानलाई पूर्ण समर्थन गर्नेछ।
उहाँले “परिवर्तनका लागि मतदान गरौँ” भन्ने आह्वानसमेत गर्नुभएको छ।
