काठमाडौं/टोरोन्टो — तीन दशकभन्दा लामो समय नेकपा (एमाले) सँग आबद्ध रहेका रमेश थापाले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। क्यानडाको टोरोन्टोबाट सार्वजनिक गरिएको वक्तव्यमा उनले एमालेले आफ्नै घोषित सिद्धान्त र व्यवहारबीच सामञ्जस्य कायम गर्न नसकेको आरोप लगाएका छन्।
थापाका अनुसार मुलुकको नेतृत्व गर्दै ‘समृद्ध नेपाल’ निर्माण गर्ने ऐतिहासिक अवसर पटक–पटक प्राप्त हुँदासमेत पार्टी नेतृत्वले ती अवसरको सदुपयोग गर्न असफल भयो। “पार्टीले अघि सारेको समृद्धिको रणनीति र सरकारमा पुगेपछि देखिएको कार्यान्वयनबीच स्पष्ट विरोधाभास देखियो,” उनले बताएका छन्। यसका कारण सिद्धान्त एकातिर र व्यवहार अर्कोतिर हिँड्ने अवस्था सिर्जना भएको उनको ठहर छ।
वक्तव्यमा उनले नेतृत्वले आफ्ना कमजोरी स्वीकार गर्न इच्छाशक्ति नदेखाएको र सच्याउन आवाज उठाउनेहरूलाई दबाउने प्रयास गरिएको गुनासो गरेका छन्। यस्तो परिस्थितिमा पार्टीभित्र रहेर मौन समर्थन गर्नु देशको समृद्धिको यात्रामा बाधक हुने निष्कर्षमा पुगेको थापाले उल्लेख गरेका छन्।
जेन्जी विद्रोहका क्रममा भएको जनधनको क्षतिप्रति तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नैतिक जिम्मेवारी लिने अपेक्षा गरे पनि पार्टी नेतृत्वले आन्दोलनप्रति देखाएको संवेदनाहीनताले आफूलाई गहिरो निराश बनाएको उनले बताएका छन्। “एमालेमा रहिरहनु नेतृत्वका गैरजिम्मेवार, अलोकतान्त्रिक र अनैतिक कार्यहरूको निरन्तर समर्थन गर्नु सरह हुने निष्कर्षमा पुगेँ,” वक्तव्यमा भनिएको छ।
प्रवासी नेपाली नागरिकका रूपमा नागरिकताको निरन्तरता सम्बन्धी
विषयमा वर्षौँदेखि आवाज उठाउँदै आए पनि एमाले नेतृत्व सधैँ अनुदार र उदासीन रहेको अनुभव भएको थापाको भनाइ छ।
हालको राजनीतिक अवस्थाको मूल्याङ्कन गर्दै उनले पुराना शक्ति, असफल अभ्यास र यथास्थितिवादी दृष्टिकोणबाट देश समृद्धिको मार्गमा अघि बढ्न नसक्ने ठम्याइ गरेका छन्। त्यसैले परिवर्तनका लागि उदयमान नयाँ शक्तिको अपरिहार्यता महसुस गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई निःसर्त सहयोग गर्ने निर्णय लिएको उनले घोषणा गरेका छन्।
थापाले प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी, नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन तथा प्रवासी नेपाली मञ्च क्यानडामा करिब एक दशक नेतृत्वदायी भूमिकामा रहेर काम गर्ने अवसर दिएकोमा पार्टी पंक्ति, मित्र तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।
