गण्डकी (पोखरा) — पोखरा महानगर क्षेत्रमा मौरीपालन व्यवसायप्रति कृषक तथा सर्वसाधारणको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ। हाल महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन व्यवसायमा संलग्न रहेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो।
विशेषगरी पोखरा महानगरका वडा नं. १६, १८, २०, २३, २६, २८, ३० र ३३ लगायतका वडाहरूमा मौरीपालनतर्फ उल्लेखनीय आकर्षण देखिएको उहाँले बताउनुभयो। हाल महानगर क्षेत्रमा वार्षिक करिब ९० टन मह उत्पादन हुने गरेको र उत्पादन क्रमशः बढ्दो अवस्थामा रहेको शाखा प्रमुख कडरियाको भनाइ छ।
महानगर क्षेत्रमा विशेषतः सेरेना जातका मौरीपालन गरिँदै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “बजारमा महको माग बढ्दो छ, उत्पादन गर्न सके बजारको कुनै समस्या छैन। मौरीपालन आयआर्जनको महत्वपूर्ण विकल्प बन्ने सम्भावना बोकेको व्यवसाय हो।”
मौरीपालनले अन्य कृषिजन्य उत्पादनमा पनि सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ छ।
मौरीपालनलाई व्यावसायिक रूपमा विस्तार गर्ने उद्देश्यले पछिल्ला समय विभिन्न तालिम कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। सोहीक्रममा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको आयोजनामा तथा पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रको समन्वयमा आइतबारदेखि ६५ दिने ‘मौरीपालक तह–१’ तालिम सुरु गरिएको छ।
पोखरा महानगरपालिका–२६ स्थित लेखनाथ ढलेपिपल कृषि सेवा केन्द्रमा सुरु गरिएको उक्त तालिममा महानगर क्षेत्रका २० जना अगुवा किसान सहभागी रहेको कृषि विकास शाखाले जनाएको छ। तालिमले मौरीपालन व्यवसायलाई व्यावसायिक, दिगो र आम्दानीमुखी बनाउने लक्ष्य लिएको बताइएको छ।
Share
More News
