म्याग्दी। म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङभित्रका सम्पूर्ण मुख्य संरचनाहरू तयार भएका छन्। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरिरहेको यस आयोजनाको ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङको ढलान र पलास्टर कार्य सकिएको हो।
आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार मुख्य सुरुङसँगै पेनस्टक पाइपलाइन, भर्टिकल प्रेसर साफ्ट, सर्ज साफ्ट र टप पेनस्टक जडान कार्य सम्पन्न भइसकेका छन्। हाल अडिट जक्सनहरूमा ग्राउटिङ र लाइनिङको सामान्य काम मात्र बाँकी रहेको छ। हालसम्म ९२ प्रतिशत भौतिक प्रगति हासिल गरेको यस आयोजनाले २०८२ फागुनभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ।
यसैगरी, रघुगङ्गा–४ र ५ को सिमानामा ३१ मिटर लामो बाँध निर्माण भइसकेको छ भने पानी थिग्राउने पोखरी (डिसेन्डर) को काम ९० प्रतिशत सकिएको छ। तिल्केनीचौरमा निर्माणाधीन विद्युत्गृहको ९८ प्रतिशत कार्य सम्पन्न भएको छ भने २० मेगावाट क्षमताको पहिलो युनिटमा उपकरण जडान कार्य सकिएर दोस्रो युनिटको काम अन्तिम चरणमा पुगेको आयोजना व्यवस्थापक राजबहादुर बिष्टले जानकारी दिए। भारतीय कम्पनी ‘भेल’ ले विद्युत्गृह र स्विचयार्डका उपकरण जडानलाई तीव्रता दिएको छ।
भारतीय एक्जीम बैङ्कको सहुलियतपूर्ण ऋण तथा नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानीमा सञ्चालित यस आयोजनाबाट वार्षिक २४ करोड ५ लाख युनिट विद्युत् उत्पादन हुने लक्ष्य छ। आयोजनाले निर्माण गरेको ११ किलोमिटर पहुँचमार्ग र पुलबाट स्थानीय बासिन्दालाई समेत आवतजावतमा सहज भएको छ। उत्पादित विद्युत् केन्द्रीय ग्रीडमा जोड्न २२० केभी दाना–कुश्मा प्रशारण लाइनमा लिलोमार्फत जोडिने गरी आवश्यक पूर्वाधार तयार भइसकेका छन्।
