काठमाडौं — वैदिक सनातन धर्मावलम्बीहरूका लागि विशेष धार्मिक महत्त्व बोकेको स्वस्थानी व्रत र माघ स्नान आजदेखि औपचारिक रूपमा सुरु भएको छ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एक महिने यस व्रत अवधिमा घरघरमा विधिपूर्वक स्वस्थानी पूजा, व्रत तथा कथा वाचन गरिन्छ भने विभिन्न शक्तिपीठ र पवित्र नदी–तीर्थस्थलमा भक्तजनको भीड लाग्ने गर्दछ।
स्वस्थानी व्रत र माघ स्नानको परम्परा सतीदेवीका अङ्ग पतन भएका शक्तिपीठमा देवीदेवताको बास रहेको विश्वाससँग जोडिएको छ।
यस अवधिमा विशेष गरी बिहान माघ स्नान गरी मध्याह्नमा पार्वतीसहित भगवान् महादेवको पूजा गरिन्छ।
बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत पर्ने ‘स्वस्थानी व्रत कथा’ सुन्ने र सुनाउने चलन छ।
कुल परम्पराअनुसार कतिपयले बिहान र कतिपयले बेलुकी कथावाचन गर्ने गर्दछन्।
पौष शुक्ल चतुर्दशीका दिन हातखुट्टाका नङ काटी स्नान गरेर शुद्ध वस्त्र धारण गरी व्रतको सुरुवात गरिन्छ।
एक महिनासम्म विधिपूर्वक व्रत गरेपछि माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, विभिन्न फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाइ देवीलाई अर्घ दिइन्छ।
व्रत सफलताको कामनासहित चढाइएका प्रसाद विशेष विधिअनुसार वितरण वा पवित्र नदीमा विसर्जन गरिन्छ।
धार्मिक विश्वासअनुसार सय रोटी ब्रतालुले स्वयं फलाहारका रूपमा ग्रहण गरी रातभर जाग्राम बस्ने परम्परा छ।
जाग्रामका क्रममा देवीको माहात्म्य सुन्ने–सुनाउने गरिन्छ, जसले ब्रतालुको मनोकामना पूरा हुने विश्वास गरिएको छ।
‘स्वस्थानी’ शब्दको अर्थ आफू बसेको स्थानकी देवी भन्ने बुझिन्छ। अर्थात् आफ्नै स्थानकी देवीको आराधना गर्नु नै स्वस्थानी पूजा हो।
उत्तरायणपछि ध्यान, योग र साधनाका लागि समय उपयुक्त हुने भएकाले आत्मसाधनासँग पनि स्वस्थानी व्रतलाई जोडेर हेरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार स्कन्द पुराणमा स्वस्थानी देवीलाई सुवर्ण वर्णकी, त्रिनेत्रधारी, चार हात भएकी, कमल र सिंहासनमा विराजमान देवीका रूपमा वर्णन गरिएको छ।
धार्मिक मान्यताअनुसार विधिपूर्वक स्वस्थानी व्रत गरेमा बिछोडिएका जोडीको पुनर्मिलन, रोगव्याधिबाट मुक्ति र इच्छाअनुसार योग्य जीवनसाथी प्राप्त हुने विश्वास प्रचलित छ।
स्वस्थानी कथाअनुसार सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान् विष्णुको निर्देशनमा महादेवलाई पति पाउन स्वस्थानी व्रत गरेकी थिइन्। व्रतको प्रभावले नाग–नागिनीको पुनर्मिलन भएको, गोमा ब्राह्मणीले पुत्र वियोगबाट मुक्ति पाएको र उनका छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र) का राजा बनेको कथा पनि स्वस्थानी ग्रन्थमा उल्लेख छ।
साँखुको ऐतिहासिक, धार्मिक र सांस्कृतिक अध्ययनमा संलग्न इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ले यी कथाहरूले स्वस्थानी व्रतको धार्मिक र सांस्कृतिक गहिराइ देखाउने बताएका छन्।
यसै अवसरमा काठमाडौं उपत्यकाको उत्तर–पूर्वी भेगमा अवस्थित साँखुस्थित शालिनदीमा आजदेखि एक महिनासम्म चल्ने माधवनारायण मेला पनि सुरु भएको छ।
उपत्यकाबाट करिब १८ किलोमिटर दूरीमा रहेको शालिनदीमा माघ स्नान, माधवनारायण तथा श्रीस्वस्थानी दर्शनका लागि नेपालका विभिन्न भागका साथै भारतबाट समेत भक्तजन आउने गरेका छन्।
शालिनदी व्यवस्थापन समितिका अनुसार यस वर्षको मेलाका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ।
धार्मिक आस्था, संस्कार र सांस्कृतिक निरन्तरताको प्रतीकका रूपमा स्वस्थानी व्रत र माघ स्नानले नेपाली समाजमा विशेष स्थान ओगट्दै आएको छ।
