मकाउ — जनवादी गणतन्त्र चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा क्रियाशील गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वयन परिषद् मकाओले राष्ट्रिय हित र जन सुरक्षाको संरक्षणका लागि औपचारिक विप्रेषण माध्यमको प्रयोगमा दृढ प्रतिबद्धता व्यक्त गरेको छ।
हङकङस्थित नेपाली महावाणिज्यदूतावासद्वारा २२ डिसेम्बर २०२५ मा जारी ‘हुण्डी कारोबार निरुत्साहित गर्न सहयोग पुर्याउने सम्बन्धी सूचना’ तथा नेपाल सरकारको निर्देशनलाई गम्भीरतापूर्वक अध्ययन गर्दै एनआरएनए मकाओले हुण्डी लगायतका गैरकानूनी र अनौपचारिक विप्रेषण माध्यमविरुद्ध सशक्त सहयोगी भूमिका खेल्ने घोषणा गरेको हो।
एनआरएनए मकाओका अनुसार हुण्डीमार्फत गरिने कारोबार अवैध मात्र नभई यसले देशको अर्थतन्त्रमा गम्भीर नकारात्मक असर पार्ने गर्दछ।
यस्तो कारोबारले नेपालको बाह्य कारोबारको भुक्तानी असन्तुलनलाई थप जटिल बनाउने, अन्तर्राष्ट्रिय समुदायमा नेपालको छविमा नकारात्मक प्रभाव पार्ने तथा तस्करी र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अन्तर्राष्ट्रिय अपराधलाई प्रोत्साहन गर्ने खतरा रहेको संघको ठहर छ।
उक्त विषयको गम्भीरतालाई ध्यानमा राख्दै एनआरएनए मकाओले निम्न प्रतिबद्धता सार्वजनिक गरेको छः
– नेपाल सरकार तथा नेपाली महावाणिज्यदूतावास (हङकङ–मकाओ) ले हुण्डीविरुद्ध सञ्चालन गरेको अभियानलाई पूर्ण समर्थन गर्दै मकाओस्थित सम्पूर्ण नेपाली समुदायसम्म यसको सन्देश पुर्याउने।
– सदस्य तथा नेपाली समुदायलाई बैंक तथा लाइसेन्सप्राप्त वित्तीय संस्थामार्फत मात्र विप्रेषण गर्न निरन्तर जनचेतना अभियान सञ्चालन गर्ने।
– हुण्डी कारोबार गर्ने वा गराउने व्यक्ति तथा संस्थासम्बन्धी सूचना दिनुलाई सामुदायिक दायित्वका रूपमा प्रोत्साहन गर्ने र सूचना दिने व्यक्तिको पहिचान गोप्य रहने नेपाल सरकारको आश्वासनबारे प्रचार–प्रसार गर्ने।
संघले नेपालमा रकम पठाउँदा वा ल्याउँदा अनिवार्य रूपमा बैंक तथा अन्य वैधानिक माध्यम मात्र प्रयोग गर्न आग्रह गरेको छ।
साथै, कसैले हुण्डी कारोबार गरेको जानकारी पाएमा बिना हिचकिचाहट तोकिएको सम्पर्क ठेगाना (Mo.president@nrna.org) मा सूचना दिन अनुरोध गरेको छ।
एनआरएनए मकाओले यस विषयमा दूतावास तथा संघबाट आउने सूचनाको नियमित अनुसरण गर्न र साथीभाइ तथा परिवारलाई समेत जानकारी दिन सबै नेपाली समुदायलाई अपिल गरेको छ।
