इलाम । भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको प्राथमिकता राहत र पुनःनिर्माणमा केन्द्रित रहेको बताएका छन् ।
शनिबार बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षणपछि मन्त्री घिसिङले भने, “सरकार प्रभावित नागरिकसँगै छ । तत्काल राहत र दीर्घकालीन पुनःनिर्माणका काम अघि बढाइनेछ ।”
मन्त्री घिसिङले रोङ गाउँपालिका, सूर्योदय नगरपालिका हुँदै इलाम नगरपालिका–१० राजदुवालीसम्मको क्षेत्र निरीक्षण गरेका छन् । उनले इलाम, सन्दकपुर, माईजोगमाई र आसपासका बस्तीमा पुगेर स्थानीयवासीसँग क्षति, राहत र पुनःस्थापनासम्बन्धी जानकारी लिएका छन् ।
निरीक्षणका क्रममा मन्त्री घिसिङले राजदुवाली सडक, मिल घुम्ती लगायतका क्षतिग्रस्त सडक र संरचनाको अवस्थाको पनि अवलोकन गरेका थिए ।
गत असोज १८ गते रातिको भीषण वर्षाले इलाममा ठूलो जनधनको क्षति पुर्याएको थियो । बाढी र पहिरोका कारण हालसम्म ३९ जनाको मृत्यु भएको छ । सरकारले इलामलाई आगामी तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
