काठमाडौँ । जेनजी आन्दोलनका प्रतिनिधिहरूबीच सहभागिताका विषयमा विवाद उत्पन्न भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि आह्वान गरिएको बैठक स्थगन गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीसहित शीतल निवासमा आज दिउँसो आयोजना गरिएको छलफलमा को-को प्रतिनिधि सहभागी हुने भन्ने विषयमा मतभेद देखिएपछि बैठक स्थगन गरिएको हो।
राष्ट्रपति सचिवालयका अनुसार वार्ताका लागि सुदन गुरुङ नेतृत्वको टोली शीतल निवास पुगेपछि बाहिर रहेका केही जेनजी युवाहरूले नाराबाजी गरेका थिए। त्यसपछि वातावरण तनावग्रस्त बनेपछि छलफल स्थगन गरी सोमबार दिउँसो ३ बजेका लागि सारिएको बताइएको छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि समूहभित्र स्पष्ट नेतृत्व नहुँदा हाल प्रतिनिधित्वको विषयमा विवाद झनै तीव्र बनेको छ। ककसलाई जेनजीको आधिकारिक प्रतिनिधि मान्ने कि नमान्ने भन्ने अन्योलले सरकारले समेत अप्ठेरो महसुस गरिरहेको बताइएको छ।
यद्यपि, आन्दोलन सुरु भएदेखि अहिलेसम्मका अधिकांश वार्तामा सुदन गुरुङ अग्रपंक्तिमा देखिँदै आएका छन्।
